२२ बैशाख २०८१, शनिबार 1714805326
अर्थ

तनहुँका स्थानीय तहद्वारा रु सात अर्ब ९१ करोडको बजेट प्रस्तुत

तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार १८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार र पूँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ । उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदानवापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, सङ्घ सरकारको राजश्व बाँडफाँटबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु १० करोड, राजस्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आय अनुमान गरिएको छ ।

सङ्घ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपूरक अनुदान रु दुई करोड १० लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपूरक अनुदान रु एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य शृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ । भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पूँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपूरक अनुदान रु दुई करोड २० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामेले बताउनुभयो । प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।