८ बैशाख २०८१, शनिबार 1713648483
फिचर

लालपुर्जा खोज्दा मृत्युदर्ताको प्रमाणपत्र !

काठमाडौँ । जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । 

तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना वि.सं. २०५५ मा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र ।

जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत साबित भयो । गत जेठ ५ गते जापानबाट नेपाल फर्किएर १३ गते मालपोत कार्यालय कलङ्कीमा लालपुर्जा खोज्दा शान्तादेवी लोहनीको नामको जग्गा अर्कैले किनेको पाइयो ।

लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प-यो । 

त्यसपछि मालपोतको अभिलेख खोज्दा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र फेला प¥यो । गोरखापत्र दैनिकसँग शान्तादेवीले गुनासो गर्नुभयो, “लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प¥यो !” उहाँले आफू सासू बिरामी भएर उपचार गर्न आएको बेला नसोचेको झमेलामा परेको भन्दै मानसिक तनावमा परेको गुनासो पनि गर्नुभयो । 

पाँच पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शान्तादेवी लोहनीको नाममा रहेको जग्गा किर्ते कागज तयार गरी बेचबिखनमा संलग्न पाँच जानलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । 

पक्राउ पर्नेमा दार्चुला मालिकार्जुन–७ घर भई काठमाडौँको टोखा–८ बस्ने महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची–४ का गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोसी–१ का बाबुराम कार्की, नुवाकोट तारकेश्वर–१ का प्रेमप्रसाद खनाल तथा काठमाडौँ तारकेश्वर–२ की ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् ।

ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार वि.सं. २०५५ देखि पीडित लोहनी परिवार दुई छोरी र एक छोरासहित जापानमा बस्दै आउनुभएको हो । लोहनी परिवारले जापानमा रहँदा कमाएको रकमले काठमाडौँको कीर्तिपुर–२ मा किनेको जग्गा किर्ते गरी बेचबिखनसमेत भएको पाइएपछि संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको महतोले जानकारी दिनुभयो  ।

ब्युरोका अनुसार जग्गाधनी लामो समयदेखि जापानमा बसेको जानकारी पाएपछि गणेशबहादुर खनाल तथा बाबुराम कार्कीले किर्ते कागज तयार गरी जग्गा बेचबिखनसमेत गरेको खुलेको छ । शान्तादेवी लोहनीको नामको उक्त जग्गाको हकवाला श्रीमान् तारानिधि लोहनीका रूपमा महावीर चन्दलाई खडा गरिएको थियो । त्यसपछि तारानिधिकै नाममा किर्ते नागरिकता र कागज तयार गरी शान्तादेवीको मृत्यु भएको विवरण पेस गरी मालपोत कार्यालयबाट जग्गा नामसारी गरिएको छ ।

लोहनी परिवारले जापानमा रहँदा कमाएको रकमले काठमाडौँको कीर्तिपुर–२ मा किनेको जग्गा किर्ते गरी बेचबिखनसमेत भएको पाइएपछि संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो । 

नक्कली तारानिधि लोहनी अर्थात् महावीर चन्दले २०७७ पुस १५ गते मालपोत कार्यालय कलङ्कीमा नक्कली कागज तयारी गरी आफ्नो नाममा नामसारी गरी वि.सं. २०७७ फागुन १० गते भक्तपुर–११ की सुनिता कर्मचार्यलाई बेचेको खुलेको छ । 

सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानमा जग्गा किर्तेमा संलग्न पाँच जनाले चितवनमा विभिन्न व्यक्तिका नाममा रहेको पाँच रोपनी जग्गासमेत किर्ते गरी बेचबिखन गर्न तयारी गरेको पाइएको जनाएको छ ।  गोपबाट