१२ बैशाख २०८१, बुधबार 1713947967
कला/साहित्य

अभिनेत्री ऐश्वर्या पनामा पेपर्समा संलग्न भएको आशंका, सोधिए यी सात प्रश्न

अभिनेत्री ऐश्वर्या राय बच्चनको पनामा पेपर्समा संलग्नता रहेको आशंका गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार एजेन्सीले सन् १९९९ को विदेशी विनिमय व्यवस्थापन ऐनअन्तर्गत विदेशमा सम्पत्ति लुकाएको आरोपमा ४८ वर्षीया ऐश्वर्याको बयान लिइएको हो।

यो प्रकरणमा उनलाई सोमबार ईडी  (प्रवर्तन निर्देशनालय) मा हाजिर हुन भनिएको थियो। यसका लागि उनी ईडीको मुख्य कार्यालय जामनगर हाउसमा उपस्थित भएकी थिइन्।

ऐश्वर्यासँग प्रवर्तन निर्देशालय (ईडी) ले सोमबार सात घण्टासम्म सोधपुछ गरेको थियो। 

एक रिपोर्टका अनुसार सोधपुछ क्रममा ऐश्वर्यालाई एजेन्सीले यी प्रश्न सोधेका थिए–

१. अमिक पार्टनर्स सन् २००५ मा ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको कम्पनी थियो। यो कम्पनीसँग तपाईंको कस्तो सम्बन्ध छ?

२. मोस्साक फोन्सेका कम्पनी दर्ता भएको कानूनी फर्मबारे तपाईंलाई के थाहा छ?

३. यस कम्पनीका निर्देशकहरुमा तपाईं, तपाईंको बुबा कृष्णराज राय, आमा कविता राय र भाइ आदित्य राय छन्। यसबारे तपाईं के भन्न सक्नु हुन्छ?

४. कम्पनीको प्रारम्भिक चुक्ता पुँजी पचास हजार अमेरिकी डलर छ। प्रत्येक सेयरको मूल्य एक रुपैंया अमेरिकी डलर थियो, र प्रत्येक निर्देशकसँग बाह्र हजार पाँच सय सेयर थियो। सञ्चालकको हैसियतबाट तपाईं किन सेयर धनी बन्नु भयो?

५. सन् २००५ मा तपाईंको स्टेटस किन सेयर होल्डरमा परिवर्तन भयो?

६. सन् २००८ मा कम्पनी किन निष्क्रिय भयो ?

७. वित्तीय लेनदेनको लागि आरबीआईसँग अनुमति मागिएको थियो ?

‘द पनामा पेपर्स’ सन् २०१६ मा लाखौं कागजात चोरी भएर मिडियामा सार्वजनिक भएको ठूलो मुद्दा हो। यो मुद्दामा विश्वका धनी र शक्तिशाली व्यक्ति तथा कर्पोरेट संस्थाले कर छली गर्न वा सेल कम्पनीहरु स्थापना गरेको आरोप छ।

ऐश्वर्याको नाम यही पेपर्समा भएको पाँच सय जना भारतीयको सूचीमा समावेश छ। तिनका गोप्य कारोबारको पर्दाफास गर्ने ११ मिलियन अमेरिकी डलर कर कागजातको ठूलो लिकमा उनको नाम पनि थियो।