१३ बैशाख २०८१, बिहीबार 1714095327
समाचार

चन्द कौशिक सुनौलो गैंडाबाट सम्मानित

काठमाडौँ — नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त चन्दन कौशिक नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ बाट सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो ।

नेपाल स्काउटको सर्वोच्च पदकबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका व्यक्ति पनि हुन् । यसअघि अधिकांश सुनौलो गैंडा पदक मरणोपरान्त दिने गरिएको थियो ।

नेपाल स्काउटको इतिहासमै पहिलो पटक युवालाई यो पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ । बाल्यकालेदेखि स्काउट अभियानमा सक्रिय कौशिक स्काउटकै इतिहासमा कम उमेरमा प्रमुख आयुक्त (राष्ट्रिय संयोजक) बन्ने व्यक्ति पनि हुन् । उनी स्काउटकै राष्ट्रिय सल्लाहाकारसमेत हुन् ।

नेपाल स्काउटले गरेको स्काउटको सबैभन्दा ठूलो मानिने कार्यक्रम तेस्रो राष्ट्रिय ज्याम्बोरीको नेतृत्व पनि यसपटक कौशिकले सम्हालेका थिए । जसमा संसारभरका स्काउट्सहरूको उपस्थिति थियो । बाबुको प्रेरणाले सामाजिक कार्य र स्काउटमा सक्रिय कौशिक युवाहरुमाझ लोकप्रिय मानिन्छन् ।

यसअघि उनका बाबु चन्द्रदेव लाल कौशिकलाई यसै सम्मानद्वारा मरणोपरान्त सम्मान गरिएको थियो ।