६ बैशाख २०८१, बिहीबार 1713496455
पालिका

हाइड्रोपावरको सुरुङमा हराएका मजदुर मृत फेला

सोलुखुम्बमा निर्माणधीन ८६ मेगावट क्षमताको सोलुखोला दूधकोशी हाईड्रोपावरको सुरुङमा बेपत्ता एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् । गएको बिहीबार थुलुङ दूधकोशी गाउँपालिका– ३ स्थित पञ्चनमा निर्माणाधीन हाईड्रोपावरमा सुरुङभित्र पेनस्टक पाइप लैजाने क्रममा स्काभेटर भाँचिएर दुर्घटना हुँदा बेपत्ता भएका बाराका २४ बर्षिय राकेश चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सुरक्षाकर्मीको टोलीले सुरुङभित्र मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । सोही दुर्घटनामा घाईते हुनुभएका पर्सा पटेरवा गाउपालिका–४ का २० बर्षिय अङ्गत रायको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

सुरुङभित्र पानी बगाउने पाईप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटर नै भाँचिएर दुर्घटना भएको थियो । मृत भेटिएका चौधरी आरालो सुरुङमा हराएका थिए । चौधरीको खोजीकार्यमा सुरुङभित्र रहेका निर्माण सामग्रीहरुका कारण ढिला भएको थियो । खोजी कार्यका लागि प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित गरिएको थियो ।

सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ । आयोजना पूर्णरुपमा स्वदेशी नीजि लगानीमा निर्माण भइरहेको ठूलो आयोजना हो ।