१२ बैशाख २०८१, बुधबार 1713953572
अर्थ

अर्थनीतिमा दलहरुको साझा धारणा आवश्यक

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थनीतिमा राजनीतिक दलहरूको साझा धारणा बन्नुपर्ने बताउनुभएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले मुलुकको अर्थनीति स्पष्ट नभएकाले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको धारणा राख्नुभयो । उहाँले मुलुक विकासका लागि सबै राजनीतिक दलमा सहमति आवश्यक पर्ने पनि बताउनुभयो । उहाँले राजनीतिक दलहरूमा मुलुक सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति बन्न नसक्दा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन भइरहने अवस्था रहेको जिकिर गर्नुभयो ।

उहाँले विकासमैत्री नीतिको आवश्यकतामा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “विकासमैत्री संरचना तथा विकासमैत्री नीतिको अभाव देखिरहेको छ जसका कारण विकासमा बाधा उत्पन्न भएको छ । ” उहाँले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकका रूपमा लिने र छलफललाई निरन्तरता दिनेसमेत प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भइनसकेको बताउनुभयो । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न सुझाउनुभयो । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव थियो । यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्नेलगायतका सुझाव विज्ञहरूले दिएका थिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्मा, प्राडा विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । त्यस्तै भारतका लागि नेपालका पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतले सुझाव दिनुभएको थियो ।