२०७९ आश्विन १६ आईतवार 1664770700
फिचर

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

काठमाडौँ। नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता (समलिङ्गी विवाह), पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ (थिङ्क ट्याङ्क) गठन गरी निरन्तर पैरवी गर्न सुरुआतसमेत गरेको छ । गत पुसमा गठित सो समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका अधिकारका क्षेत्रका निरन्तर वकालत तथा पैरवी गर्दै आएका विभिन्न सङ्घ/संस्था तथा विशेषज्ञको संलग्न छन् ।

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा सङ्घद्वारा काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित ‘नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समनताका लागि पैरवी विषयक कार्यशाला’मा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि राज्यले विशेष कार्य योजना बनाई कार्यान्वयन गर्न जोड दिइयो । दिगो विकास लक्ष्यका शिक्षा, स्वास्थ्य, खानेपानी, ऊर्जालगायत १७ सूचाङ्क हासिल गर्न नेपालसामु धेरै चुनौती छन् ।

कार्यक्रममा सहभागी ‘थिङ्क ट्याङ्क’का सदस्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि तीनै तहका सरकार, नीति निर्माता, राजनीतिक दल तथा नागरिक समाजले प्राथमिकता दिन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा समानताका लागि निरन्तर पैरवीको खाँचो औँल्याएका थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका पहिचानलाई स्थापित गर्न, उनीहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा आरक्षणको व्यवस्था मिलाउन, वैवाहिक समानता ९समलिङ्गी विवाह० लाई मान्यता दिन, सदनमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई संशोधन गरी पारित गर्न सहभागीले जोड दिएका थिए ।

‘हर्मोन क्लिनिक’ सञ्चालनको तयारी

सङ्घका अध्यक्ष हिमालयलाल कसजुले सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिलाउन सङ्घले अगुवाइ गरेको चर्चा गर्दै आगामी दिनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि निरन्तर पैरवी गर्ने जानकारी दिनुभयो । विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई पहिलो पटक कानुनी मान्यता प्रदान गरिएको थियो । यसपछि सुरक्षित गर्भपतनसम्बन्धी राष्ट्रिय नीति २०६० कार्यान्वयनमा आएको थियो भने यही नीतिका आधारमा विसं २०७३ देखि स्वास्थ्य मन्त्रालयद्वारा सूचीकृत संस्थामा सो सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । यसैगरी सङ्घले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, नियमावली २०७७ र सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ जारी गराउन सरकारलाई सहयोग गरेको थियो । 

सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ‘हर्मनन क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिने जानकारी दिँदै यसबाट विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताउनुभयो । सङ्घका कार्यक्रम व्यवस्थापन सुवासचन्द्र श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि निरन्तर पैरवी गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ महामारी, प्राकृतिक विपद्का अवस्थामा पनि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा निरन्तर जारी रह्यो ।” सन् २०२० मा ३३ लाख ६० हजार सेवाग्राहीलाई सङ्घले आफ्ना क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ ।

सङ्घका काठमाडाँै उपत्यका शाखाका वरिष्ठ कार्यक्रम संयोजक शरद अर्यालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समनताका लागि विशेष गरी वैवाहिक समानता, पहिचान तथा नागरिकताका मुद्दालाई उठान गर्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका यौन तथा प्रजनन अधिकारका क्षेत्रमा सङ्घले निरन्तर पैरवी जारी राखेको छ ।”

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा स्मिता कर्माचार्यले ‘हर्मोन चेन्ज’बाट उत्पन्न हुने समस्या र तिनका समाधानका उपायका बारेमा जानकारी दिनुभएको थियो । तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका यकिन तथ्याङ्क आउन नसक्ने जानकारी दिँदै यसका लागि अलग राष्ट्रिय सर्वेक्षणको आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार विसं २०७८ को जनगणनामा ‘अन्य लिङ्गी’का रुपमा गणना गरिएको थियो । विसं २०६८ जनगणनामा सो समुदायको सङ्ख्या ८०० रहेको उल्लेख छ ।

‘संविधान सजावट गर्ने वस्तु होइन, कार्यान्वयन हुनुपर्छ’

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका नागरिकता, पहिचान र विवाहका विषयमा सर्वोच्च अदालतका आदेश फैसला कार्यान्वयनको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “संविधानको भावनाअनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विशेष व्यवस्था गर्नुपर्छ । यसले मात्र सामाजिक विविधता बलियो बनाउँदछ ।” यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक अधिकारका क्षेत्रमा लामो समयदेखि निरन्तर पैरवी एवं वकालत गर्दै आउनुभएका मनीषा ढकालले कार्यक्रमको सहजीकरण गर्दै विविध कारणले पछाडि पारिएको यौनिक तथा लैङ्गिक समुदायलाई एकजुट भई आफ्नो अधिकारका लागि खुलेर अगाडि आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान प्रदत्त अधिकार प्राप्त गर्नु नैसर्गिक अधिकार हो, यौनिक तथा लैङ्गिक समुदायको पहिचान, विवाह तथा नागरिकताका लागि सवालमा थप पैरवी आवश्यक छ । ”

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायक यकिन तथ्याङ्कका लागि सर्वेक्षण आवश्यक रहेकामा जोड दिँदै वैवाहिक समानता, पहिचान तथा नागरिकताका विषयमा सरकारको ध्यान जानुपर्छ भन्नुभयो ।

कार्यक्रममा व्लु डायमण्ड सोसाइटीका उपाध्यक्ष उमिशा पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका संविधान प्रदत्त अधिकार हनन भइराखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका अधिकार स्थापित गर्न वैवाहिक समानता, पहिचान तथा नागरिकता पाउनुपर्छ ।” कार्यक्रममा दैलेखको गुराँस नगरपालिकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका लागि पनि सामाजिक भत्ता वितरण सुरु गरेको जानकारी दिइएको थियो । दिगो विकासका लागि राष्ट्रिय अभियानका दयासागर श्रेष्ठले नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न धेरै चुनौती रहेको बताउनुभयो ।