७ बैशाख २०८१, शुक्रबार 1713535685
समाज

कामदार कोरोना संक्रमित हुँदा नागढुंगा सुरूङ निर्माण सुस्त

देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो। 

सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुंगा सुरूङमार्ग आयोजनाले जनाएको छ। शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए।

‘स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन,’ शाक्यले भने। निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो सङ्ख्या चार सय हाराहारीमा छ। 

निर्माणस्थलमा नै प्रत्येक पाँच-पाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ। आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए।

अहिले दैनिक ६/७ मिटर मात्रै खनिरहेको छ। सुरूङ खन्न सुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए। उनले भने, ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकामा अहिले सङ्क्रमण बढेकाले केही समस्या भएको छ।’

आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढमहिना ढिला छ। निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए।