५ जेष्ठ २०८१, शनिबार 1716085096
पालिका

एक पालिका एक गौरवको योजना सुरु गरिन्छ : लुम्बिनी प्रदेश मुख्यमन्त्री

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रत्येक पालिकामा एउटा गौरवको योजना सुरु गर्न आग्रह गर्नुभएको छ । शनिबार चन्द्रौटामा लुम्बिनी प्रदेशले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाइ तथा अन्तक्र्रियामा उहाँले जनचाहनाअनुसार विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

अधिकांश पालिकाहरूमा नयाँ नेतृत्व आएको बताउँदै मुख्यमन्त्री केसीले नागरिकहरूका लागि कुनै न कुनै गौरवको योजना सुरु गर्नुपर्ने बताउनुभयो । “जनताले ठूलो आशा र भरोसा गरेर निर्वाचित गरेका छन्, जनताको आवश्यकताका आधारमा काम गर्नुहोस्”, केसीले भन्नुभयो, “पालिकाका सकारात्मक काममा प्रदेश सरकारले सहयोग गर्न तयार छ ।”

अबको केही समयमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकाले प्रदेश सरकारका अधुरा कामहरूलाई पूरा गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । कानुन निर्माणदेखि अन्य केही कामलाई पूरा गर्न तत्पर रहेको बताउनुभयो । मुख्यमन्त्री केसीले नागरिकको मागलाई पूरा गर्ने तवरबाट पालिकाले काम गर्नुपर्ने सुझाव दिनुभयो । धेरै पालिकामा नयाँ अनुहार आएकाले अवसर र चुनौतीलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले संविधानले दिएको अधिकारलाई ध्यान दिँदै सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको सेवा गर्ने जनप्रतिनिधिको दायित्व रहेकाले तीनवटा सरकारमध्ये जनताको घरदैलोको सरकार स्थानीय सरकार रहेको बताउनुभयो । प्रमुख शेरचनले पालिकालाई समृद्ध बनाउन सकियो भन्ने प्रदेश पनि समृद्ध हुनेमा जोड दिँदै जीवनस्तर परिवर्तन हुने गरी काम गर्न पालिकाका प्रमुख उपप्रमुखलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनताले दिएको मतलाई सम्मान गर्दै विकास र समृद्धिमा सबै जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताले विकास चाहेको र नवनिर्वाचित जनप्रतिनिधिले त्यो चाहनालाई पूरा गर्ने दायित्व रहेको जिकिर गर्नुभयो । अन्तक्र्रियामा सङ्घीयताविज्ञ तथा राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा, पूर्वराजदूत लीलामणि पौडेलले सहजीकरण गर्नुभएको थियो ।