७ बैशाख २०८१, शुक्रबार 1713583194
अर्थ

कार्यसम्पादन क्षमता कमजोर भएका कर्मचारीको सम्झौता अन्त्य गर्ने डुडुवा गाउँपालिकाको निर्णय

बाँके- बाँकेको डुडुवा गाउँपालिकाले खर्च कटौती गर्ने भएको छ । गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो ।

“विभिन्न कर्मचारीमध्ये कार्यसम्पादन क्षमता कमजोर भएका केही कर्मचारीको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको हो”, उहाँले भन्नुभयो । निर्वाचित भएपछि कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिकभार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय भएको जानकारी दिनुभयो । उहाँले खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक पहल गर्ने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न पहिलो प्राथमिकता दिने जानकारीदिनुभयो ।

अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरीयता तथा प्रभावकारी सेवा प्रवाहमा कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत उहाँ दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित हुनुभएको थियो ।