१३ बैशाख २०८१, बिहीबार 1714076324
खेलकुद

मनाङलाई हराउँदै एपिएफ च्याम्पियन

२०औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपिएफले ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५–४ गोलले हरायो । एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा एपिएफले बाजी मारेको हो । उपाधिसँगै एपिएफले १० लाख एक हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मनाङले पाँच लाख एक हजार रुपियाँमा चित्त बुझायो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा एपएिफले सुरुवाती अग्रता लिएको थियो । २०औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको उत्साह जगाउनुभयो । मनाङले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औँ मिनेटमा मनाङका भारतीय खेलाडी दयानन्द सिंहले कप्तान विमल रानाको पासमा गोलगर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

८४औँ मिनेटमा फ्रान्कलिन टालाले हेड गोल गरेपछि मनाङ जिततर्फ अग्रसर बनेको थियो । तर इन्जुरी समयमा एपिएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ लग्नुभएको थियो । अतिरिक्त समयमा गोल नभएपछि टाईब्रेकरमा एपिएफ भाग्यमानी बन्यो । 

टाईब्रेकरमा मनाङका रोजाईका स्ट्राईकर ओलावाले आफिज चुकेपछि शहिद स्मारक ए डिभिजन लिगमा रेलिगेसन जोगाउन संघर्षरत एपिएफले पहिलो पटक मोफसलको प्रतिष्ठित उपाधि चुम्न सफल भएको थियो । ओलावालेका प्रहारलाई एपिएफका कोरियल गोलरक्षक युया कोरियामाले बचाउनुभएको थियो ।

टाईब्रेकरमा एपिएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा र अर्मान्ड विडोमले गोल गर्नुभयो । मनाङका फ्रान्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गर्नुभएको थियो ।