७ बैशाख २०८१, शुक्रबार 1713563982
अपराध

बालिका बलात्कारको आरोपमा २० महिनापछि युवक पक्राउ

काठमाडौँ — भक्तपुरमा एक बालिकामाथि बलात्कार भएको २० महिनापछि बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाका परिवारले घटनाको २० महिनापछि मात्रै बलात्कार भएको पत्ता लगाएका थिए ।प्रहरीले भने अभिभावकबाट उजुरी आएको केही घण्टामै आरोपित सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–३ का १९ वर्षीय शमशेर पहरीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी हरिनन्दन चौधरीका अनुसार ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय पहरीलाई गत शनिबार पक्राउ गरिएको हो ।

कोभिड १९ महामारीको लकडाउनको अवधिमा २०७७ साउन १९ मा विद्यालय बन्द हुँदा डेराको कोठामै नाबालिका बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पीडित नाबालिकाका अभिभावकले बलात्कार आरोपित पहरीलाई आफ्नै डेराको कोठामा सँगै राखेका थिए । अभिभावक नभएको मौका पारेर धम्क्याएर नाबालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । नाबालिका बलात्कार घटनापछि आरोपित पहरी सिन्धुपाल्चोक गएर बसेका थिए ।

बालबालिका सम्बन्धी कसुर (बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ (छ, ज) अन्तर्गत मुद्दामा पहरीलाई जिल्ला अदालत भक्तपुरबाट थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको डीएसपी चौधरीले बताए ।

पीडित नाबालिका मध्यपुर थिमिस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छिन् । उनका अभिभावक दैनिक ज्यालादारी (ज्यामी) काम गर्छन् । पीडितका बुबासँगै ज्यामी काम गर्ने र लकडाउनमा सँगै बस्ने पहरीले पटकपटक नाबालिकालाई यौन शोषण गरेको खुलेको छ ।

पीडित बालिकाको यौनांगबाट रक्तश्राव भएपछि अभिभावकले अस्पताल पुर्‍याउँदा बलात्कार भएको कुरा चिकित्सकले पुष्टि गरेका थिए ।