८ बैशाख २०८१, शनिबार 1713640955
खेलकुद

धनगढी सुपर लिग : महेन्द्रनगर र देउखुरी वारियर्स विजयी

कैलाली- धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्गल क्रिकेट क्लब बझाङलाई पाँच विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ सुरु गरेको बुङ्गलले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२७ रन बनाएको थियो । एक सय २८ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगरले १५.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि राहुल भण्डारीले ४६ र सन्दीप जोराले अविजित ३७ रनको पारी खेले । बलिङतर्फ बुङ्गलका गोविन्द विष्टले दुई विकेट लिए ।

त्यसअघि बुङ्गलका लागि किरणकुमार ठगुन्नाले ५० रनको अर्धसतकीय पारी खेलेका थिए । उसका सन्दीप विष्टले ३२ र आदित्य महताले २० रन बनाए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्ट र सन्दीप जोराले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ सन्दीप जोरा चुनिए । त्यस्तै आजै भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमी माथि दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले नौ विकेटको जीत निकाल्यो । 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । एक सय १५ रनको विजयी लक्ष्य पछ्याएको देउखुरीले ११.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका सुरुआती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे । १०औँ ओभरमा विराट भण्डारी २४ रन बानाएर बोल्ड आउट हुन पुगेका थिए । प्रज्वल थापाले भने सात चौका र छ छक्कासहित ७७ रनको अविजित सानदार पारी खेले ।  

त्यसअघि धनगढी क्रिकेट एकेडेमीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ देउखुरीका प्रतिश जिसीले चार ओभर बलिङ गर्दै १४ रन खर्चिएर तीन विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ प्रज्वल थापा भए । 

प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी र देउखुरी वारियर्स प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलको विजेताले लिटल फ्लावरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिटल फ्लावर यसअघि नै पाँचमध्ये तीन खेलमा जीत निकाल्दै सात अङ्कसहित फाइनल प्रवेश गरिसकेको छ । 

प्रतियोगिताको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा देशका विभिन्न छ वटा क्लब बुङ्गल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहेको बताइएको छ ।